Main News

७४४८ जना कोरोना संक्रमित थपिँदा ३७ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २० गते १७:४०
७४४८ जना कोरोना संक्रमित थपिँदा ३७ जनाको मृत्यु

२० वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दैनिक कीर्तिमानी रुपमा बढिरहेको छ । पछिल्लो पटक एकैदिन करिब साढे सात हजार संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा सात हजार ३ सय ८८ र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा महामारी शुरु भएयताकै उच्च हो ।

हिजो पनि सात हजार भन्दा बढी संक्रमित थपिएका थिए । संक्रमितसँगै मृत्युदर पनि बढेको छ । पछिल्लो पटक एकैदिन संक्रमणबाट ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको संख्या ३३ सय ६२ पुगेको छ ।

यस्तै कुल संक्रमितको संख्या तीन लाख ४३ हजार ४ सय १८ पुगेको छ । सक्रिय संक्रमितको संख्या पनि पचास हजार नाघेको छ । आज देशमा ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सक्रिय संक्रमितमध्ये ५० हजार १ सय ७२ जना होम आइसोलेसनमा छन् । उपचाररत संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा र १ सय ४२ जना भेन्टिलेटरमा छन् । पछिल्लो पटक थपिएका संक्रमितमध्ये काठमाडौ उपत्यकामा ३६ सय भन्दा बढी छन् ।

काठमाडौंमा २९ सय २२, ललितपुरमा ५ सय २२, भक्तपुरमा २ सय २२ जना संक्रमित थपिएका छन् । उपत्यका वाहिर रुपन्देहीमा ६ सय १९, बाँकेमा ४ सय ४०, मोरङमा ३ सय ६२, कास्कीमा ३ सय ५५ र चितवनमा १ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीमा १ सय २७, काभ्रेमा १ सय १९, कपिलवस्तुमा १ सय १५, सुनसरीमा १ सय १२ र दाङमा १ सय २ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये ९ वर्ष मुनिका १ सय ५६ बालबालिका र १० देखि १९ वर्षसम्मका ४ सय २९ जना छन् । पछिल्लो पटक २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *