Main News

लुम्बिनी प्रदेशमा एमालेकै बहुमतको सरकार बनाउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १९ गते १२:५३
लुम्बिनी प्रदेशमा एमालेकै बहुमतको सरकार बनाउने तयारी (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७८ बुटवल । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै लुम्बिनी प्रदेशमा एमालेले एकल बहुमतको सरकार बनाउने तयारी शुरु गरेको छ ।

अविश्वास प्रस्तावनै औचित्यहीन हुने गरी मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ अर्थात प्रष्ट बहुमत छ । नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १७,जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभामा सहभागी दललाई आह्वान गर्नुपर्छ । आजै त्यसका लागि आह्वान गर्ने तयारी छ ।

संसदमा बहुमत भएपनि एमालेकै नेपाल–खनाल पक्षमा दुई जना सांसदले फ्लोर क्रस गर्ने र अविश्वासको प्रस्ताव पारित हुने आंकलन गर्दै मुख्यमन्त्री पोखरेलले त्यसलाई असफल पार्न बिहान पदबाट राजीनामा दिनुभएको थियो ।

राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गर्नु भएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर राजीनामा दिएर विषयलाई नयाँ प्रक्रियामा प्रवेश गराई मुख्यमन्त्री पोखरेलले त्यसलाई असफल पारिदिनुभएको छ ।

मुख्यमन्त्री पोखरेललाई नयाँ कदम चाल्न चार जना सांसद हटाउने जनता समाजवादी पार्टीको निर्णय मुख्य हतियार बन्यो । चार जना पदमुक्त हुँदा सदनमा एमालेको बहुमत भएपछि उहाँले राजीनामाको अस्त्र फालेर विपक्षीको योजना असफल पारिदिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *