कोरोना कहर : त्रास बढ्यो, अपहेलना घट्यो

हिमालय टिभी
२०७८ वैशाख १८ गते १७:३२
कोरोना कहर : त्रास बढ्यो, अपहेलना घट्यो

१८ वैशाख २०७८ धनगढी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि अत्यन्तै प्रभावित बनेको छ ।

राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन् । दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिँदै छन् भने दैनिक मृतकको सङ्ख्या दुई अङ्ककै छ । तैपनि पहिलो चरणमा जस्तो कोरोना सङ्क्रमित र उनीहरूका परिवारले अहिले सामाजिक अपहेलना भोग्नु परेको छैन ।

पहिलो चरणको कोरोना महामारी फैलिएको बेला गत वर्ष कोरोना भएका मात्र हैन कोरोना निको भइसकेकाहरू र उनीहरूका परिवारका सदस्यहरूले सामाजिक अपहेलना भोग्नु पथ्र्यो तर अहिले सङ्क्रमितहरु पनि कुनै अपहेलनाविना होम आइसोलेशनमा बसिरहेका छन् । घरेलु उपाय अपनाएर कोरोनासँग लडिरहेका छन् ।

गत वर्ष कोरोना सङ्क्रमण फैलिँदाको अवस्था सम्झँदै कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले भन्नुभयो, “त्यति बेला त कोरोना लागेका र भारतबाट आएकाहरू मान्छे नै होइनन् जस्तो व्यवहार समाजमा देख्दा हामीलाई व्यवस्थापन गर्न निकै समस्या थियो । तर पहिलो चरणको कोरोना फैलिरहँदा मानिसहरूमा कोरोना सङ्क्रमितलाई हेर्ने जुन नजरिया थियो त्यो अहिले बदलिएको छ ।”

पहिलो चरणमा कोरोना सङ्क्रमित त छोडौँ कोरोना जितेका व्यक्तिका परिवार नै सामाजिक क्रियाकलापमा सहभागी हुन पाउँदैन थिए । उनीहरू रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या थियो तर अहिले त्यस्तो छैन भन्दै उहाँले अहिले हाम्रा स्वाथ्यकर्मीहरुले सम्झाइबुझाइ गर्दा स्थानीयवासी मान्नुहुन्छ त्यसैले अहिले अलि सजिलो भएको बताउनुभयो ।

अघिल्लो पटक कोरोना सङ्क्रमित बिरामीको उपचार गरेर डेरा फर्कंदा वरपर त्रासको माहोल हुन्थ्यो आफूलाई पनि चिन्ता हुन्थ्यो तर अहिले त्यस्तो किसिमको चिन्ता नरहेको उहाँको भनाइ छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स सुस्मा विकले भन्नुभयो, “अहिले कोरोना सङ्क्रमित द्रुत गतिमा बढिरहेको छ र ज्यान पनि धेरैले गुमाउँदै हुनुहुन्छ, उहाँहरुलाई बचाउन नसक्दा चाहिँ मन अमिलो हुने गरेको छ ।” यसरी कोरोना सङ्क्रमणको ग्राफ बढे पनि समाजमा अहिले आफूहरूको कामलाई लिएर पहिले जस्तो त्रास र अपहेलनाको अवस्था नभएका कारण काम गर्न लाग्ने डर भने हराएको उहाँको भनाइ छ ।

गएको वर्ष कोरोना महामारीका कारण भारतबाट आफ्नो जन्मभूमि आउँदा पाएको दुःख र आफ्नै ठाउँमा गरिएको व्यवहार सम्झने हो भने त अहिले पनि मन भक्कानिएर आउने गरेको कैलालीको घोडाघोडी नगरपालिका–११ का ठागुराम कठरियाले बताउनुभयो ।

उहाँले त्यति बेला भारतबाट आएका मानिस भनेपछि समाजमा एक किसिमको आतङ्क हुन्थ्यो भन्नुभयो । अहिले समाजमा त्यस्तो किसिमको आतङ्क नरहेको र सङ्क्रमित भएका भए पनि होम आइसोलेशनमा बस्न आफूहरूले सुझाउने गरेको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण देखिएर अहिले होम आइसोलेशनमा बसिरहनुभएका कैलालीको घोडाघोडी नगरपालिका–१० का एक सङ्क्रमित पहिलेको जस्तो अवस्था भएको भए अहिले आफू होम आइसोलेशनमा बस्न नसक्ने स्थितिमा रहने बताउनुभयो । कोरोनाका बारेमा समाजमा फैलाइएको अपवाह नै खतरनाक साबित भएको उहाँको भनाइ छ ।

अहिले वरपरका छिमेकीले परिवारका सदस्यलाई आफ्ना बारेमा चिन्ता लिएको देख्दा साँच्चै समाजमा रहेको त्यो सोच चिरिए झैँ लाग्ने गरेको उहाँले बताउनुभयो । आफू सङ्क्रमित हुँदा पहिलेको जस्तै अवस्था होला कि भन्ने पीरले सताए पनि त्यस्तो व्यवहार नपाउँदा आनन्द लागेको उहाँको भनाइ छ । उहाँले समाजमा एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने नेपाली संस्कार जीवितै रहेको महसुस भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *