Main News

आन्तरिक विवादका कारण फुट्ने अवस्थामा जसपा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १९:१६
आन्तरिक विवादका कारण फुट्ने अवस्थामा जसपा (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी नयाँ सत्ता समीकरणलाई लिएर फूट्ने अवस्थामा पुगेको छ ।

पूर्व राजपा र संघीय समाजवादी पार्टीले समानान्तर गतिविधि सहित निर्णय गरेपछि जसपा फूटको अवस्थामा पुगेको हो । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

वैशाख १४ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री ओली विरुद्ध आउने अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गरेको हो ।

५१ मध्ये २६ जनाको बैठकले ओलीलाई हटाउन पहल गर्ने निर्णय गरेको छ । संसद विघटन गरेर प्रतिगामी कदम चालेको, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र संकटमा पारेको र सर्वोच्च अदालतले संसद पूनस्थापना गर्दा समेत राजिनामा नदिएकोले ओलीलाई हटाउनुपर्ने निष्कर्षमा पुगेको जसपाको कार्यकारिणी समितिका एक सदस्यले जानकारी दिएका छन ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यकारिणी समितिको बैठक बोलाउन तयार नभएपछि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष बहुमत जुटाएर बैठक बसेको हो । ५१ सदस्यीय कार्यकारिणी समितिमा तत्कालीन राजपाका २६ र समाजवादीका २५ जना थिए ।

समाजवादीका २५ जना एकठाउँमा छन् भने राजपा तर्फका महिन्द्र राय यादव, रमेशप्रसाद यादव र गजाधर रोहित यादव पनि बाबुराम–उपेन्द्र पक्षमा उभिएपछि प्रष्ट बहुमत पुगेको छ । महिन्द्र राय यादवले निर्णयमा हस्ताक्षर गर्नुभएको छ । दुई जनाले हस्ताक्षर गर्नुभएको छैन ।

तर रमेशप्रसाद यादव र गजाधर रोहित आफ्नो पक्षमा भएकोले कार्यकारिणी समितिमा २८ जना रहेको भट्टराई यादव पक्षका ती नेताले बताए । उनका अनुसार महन्थ ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा छ । अहिले २० जना सांसद आफ्नो पक्षमा रहेको भट्टराई र यादव पक्षले दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *