Main News

५७२७ जना कोरोना संक्रमित थपिँदा ३३ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १६:३७
५७२७ जना कोरोना संक्रमित थपिँदा ३३ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्र भएको छ । पछिल्लो पटक कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । ५७ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षण गर्दा ५६ सय ५७ र ५ सय २५ एन्टिजेन परीक्षणमा ७० गरी ५७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या महामारीको दोस्रो लहर शुरु भएपछिकै उच्च हो । यस्तै नेपालमा संक्रमण शुरु भएयताकै दैनिक संक्रमितको यो संख्या दोस्रो धेरै हो । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै आधा भन्दा धेरै छन् ।

काठमाडौं जिल्लामा २४ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

उपत्यका बाहिर रुपन्देहीमा ४ सय ७३, बाँकेमा चार सय २२, दाङमा २ सय ५२, मोरङमा १ सय ६१ र पर्सामा १ सय ३३ नयाँ संक्रमित भेटिएका छन् । नयाँ संक्रमित मध्ये पाँच सय भन्दा बढी १९ वर्षमुनिका छन् ।

थपिएकासँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । यस्तै ३३ जना थपिएपछि मृतकको संख्या ३२ सय ७९ पुगेको छ । ३३ मध्ये २८ जनाको गत २४ घण्टामा र ५ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक सिकिस्त हुने संक्रमितको संख्या पनि बढेको छ । ३ सय ३१ जनाको आइसियूमा र १ सय १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *