Main News

काठमाडौंका खतरनाक ४ दृश्य : जहाँबाट फैलिन सक्छ कोरोना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १५ गते २०:३३
काठमाडौंका खतरनाक ४ दृश्य : जहाँबाट फैलिन सक्छ कोरोना (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्न भन्दै काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा लागू हुने अघिल्लो दिन काठमाडौंका विभिन्न नाकामा देखिएका दृष्यले भने कोरोना संक्रमण घटाउने होइन कि बढाउने खतरा छ ।

काठमाडौंको गंगबु नयाँ बसपार्क । बिहीबारदेखि काठमाडौं उपत्यकामा दुई साता लामो निषेधाज्ञा लाग्ने भएपछि काठमाडौं छोड्नेको भीड छ । गंगबुमा मात्र होइन, काठमाडौंका कोटेश्वर, कलंकी र भक्तपुरको सुर्यविनायकमा पनि यस्तै भीड छ । उपत्यकाबाट बाहिरिने मानिस बस कुर्दैछन् । यहाँ न भौतिक दूरीको ख्याल छ, न त स्वास्थ्य मापदण्डका अन्य उपाय नै अपनाइएको छ ।

सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा लगाएको छ । तर उनीहरुलाई कोरोनाको भन्दा निषेधाज्ञाको डर छ । र, यसरी उनीहरु घर फर्किँदा कोरोना गाउँसम्म पुग्ने खतरा छ ।

काठमाडौंको एउटा खोप केन्द्र । कोरोना भाइरसबाट बच्नका लागि खोप लगाउने मानिसको भीड हो यो । ठेलम्ठेल गरेर मासिनहरु खोप लगाउन लाइन बसेका छन् । कोरोना संक्रमणबाट बच्न उनीहरु खोप लगाउन आएका हुन् । तर स्थिति यस्तो छ, यहाँबाटै संक्रमण फैलिने खतरा छ ।

अनि यो पेट्रोल पम्प । काठमाडौंका अधिकांश पेट्रोल पम्पमा यस्तै भीड छ । निषेधाज्ञा जारी हुने भएपछि इन्धनको जोहो गर्नेहरु मास्क र भौतिक दूरी बिना नै जोखिमपूर्ण तरिकाले पेट्रोल पम्पमा लाम लागेका छन् ।

भीडभाड कता छैन ? हुलका हुल मान्छेहरु कता हिंडिरहेका छैनन् ? जताततै त्यस्तै छ । सपिङ सेन्टर भित्रको यो दृश्य हेरौं। बजार, पसल बन्द हुने डरले उपभोक्ता सपिङ सेन्टरमा पुगेका छन् । आवश्यक सामान एकै ठाउँमा पाइने भएकाले पनि उपभोक्ता एकै पटक सपिङ सेन्टरमा पुगेपछि यहाँ पनि भीड छ ।

यी सबै भीड कोरोनाबाट बच्ने नाममा भएका भीड हुन् । चाहे घर फर्कने हुन् वा खोप लगाउन लाइन बसेका नै किन हुन् । यी सबै कोरोनाबाट जोगिन चाहन्छन् । तर कोरोनाबाट जोगिने बहानामा यहाँ यतिसम्म लापरबाही भइरहेको छ कि यहीँबाट संक्रमित हुने र गाउँ गाउँमा घर घरमा कोरोना संक्रमण फैलिने संभावना उच्च छ । यी दृश्यले कोरोना नियन्त्रणमा नागरिकले आप्नो दायित्व निर्वाह गरेको देखिन्न । जुन निकै दुखद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *