Main News

नेपाललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गर्ने विदेशीको आवागमनमा रोक

हिमालय टिभी
२०७८ वैशाख १५ गते ७:१८
नेपाललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गर्ने विदेशीको आवागमनमा रोक

१५ वैशाख २०७८ काठमाडौं । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ ।

अध्यागमन विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेका बेला नयाँ दिल्लीबाट नेपालमा सिधा उडानबाट दैनिक सयौँ भारतीय विनारोकतोक भित्रिरहेका थिए ।

नेपाल घुम्न आएका विदेशीभन्दा पनि भारतबाट साउदीतर्फ सिधा उडान रोकिएपछि साउदीमा काम गर्ने भारतीय नेपालको बाटोबाट साउदीतर्फ गइरहेका छन् ।

नेपालमा आउँदा क्वारेन्टिन र स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको भन्दै विरोध भइरहेको थियो । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् ।

दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयले भरिने गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुवरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सिधा उडान रोकेपछि भारतीयले नेपालको बाटो रोजेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *