Main News

बाँकेमा भयावह बन्दै कोरोना, संक्रमित नर्स नै उपचारमा खटिन बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १८:१९
बाँकेमा भयावह बन्दै कोरोना, संक्रमित नर्स नै उपचारमा खटिन बाध्य (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ बाँके । नेपालगञ्जमा कोरोना संक्रमण अझै नियन्त्रणबाहिर छ । लकडाउनका बावजुद नयाँ संक्रमित फेला पर्ने दर उस्तै छ । भेरी अस्पतालमा २ सयभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । तिमध्ये ५० भन्दा बढीको अवस्था गम्भीर छ । ठुलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । अवस्था यस्तो सम्म आएको छ कि संक्रमित स्वास्थ्यकर्मी आफै उपचारमा खटिनुपरिरहेको छ ।

भेरी अस्पतालमा जनशक्तिको चरम अभाव छ । ४–५ जना स्टाफ नर्स एक सय जनासम्म बिरामीको उपचारमा खटिनुपर्ने बाध्यता छ । संक्रमितको उपचार गर्दागर्दै अस्पतालका चिकित्सक र नर्ससहित ६० जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । जनशक्ति कम भएका कारण संक्रमित भएका नर्सले पनि सुख पाएका छैनन् । कोरोना वार्डकी स्टाफ नर्स कमला नेपाली आफैं संक्रमित हुनुहुन्छ । तर अहिले उहाँ उपचारमा खटिइरहनु भएको छ ।

संक्रमित भएपछि पोसिलो खानेकुरा खाँदै आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिइरहेका छन् । तर कमलालाई त्यस्तो फुर्सद छैन । उहाँ छाति दुख्दा डराउनुहुन्छ र केहीबेर आराम गर्नुहुन्छ । अनि फेरि सहयोगमा जुट्नुहुन्छ ।

नर्सिङ जनशक्ति कम भएका कारण संक्रमित भएका नर्स पनि उपचारमा खटिनु परेको अस्पताल व्यवस्थापनको तर्क छ । अहिलेसम्म १० जना संक्रमित नर्स उपचारमा खटिइसकेका छन् । अस्पतालका प्रमुख प्रकाश थापा कुनै विकल्प नभएपछि संक्रमितलाई नै उपचारमा खटाउनुपरेको बताउनुहुन्छ ।

जनशक्तिको व्यवस्था नै नगरी भेरी अस्पतालमा बेड थप्न भनिएको छ । अस्पतालको कोरोना वार्डमा १ सय ४२ बेड भए पनि २ सय भन्दा बढीको उपचार भइरहेको छ । दुई सातादेखि सिकिस्त अवस्थाका संक्रमितले समेत बेड पाउन सकिरहेका छैनन् । यही अवस्थामा बेड थपिए काम गर्न नसकिने नर्सहरुले बताएका छन् । किनकी अहिले नै उनीहरुलाई निकै सकस परिरहेको छ ।

प्रशासनले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको छ । संक्रमण सामान्य घटेको जस्तो देखिए पनि भर्ना हुन पर्ने संक्रमितको संख्या उल्लेख्य छ । अस्पतालमा बेड र जनशक्तिको व्यवस्थापन हुन सकेको छैन । त्यसैले गम्भीर अवस्थाका संक्रमितको उपचारमा पनि समस्या भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *