Main News

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्र संघका विज्ञको असहमति

हिमालय टिभी
२०७८ वैशाख १४ गते १६:३२
मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्र संघका विज्ञको असहमति

१४ वैशाख २०७८ काठमाडौं । राष्ट्र संघीय मानवअधिकार विज्ञहरुले राष्ट्रिय मानव अधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर आयोगमा भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका हुन् ।

उनीहरुले संवैधानिक निकायमा भएको नियुक्ति उल्टाउन,खुला, पारदर्शी, वृहत परामर्श र सहभागितासहितको नयाँ प्रक्रियाको सहजीकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

नियुक्ति बारे पहिले नै सरकारलाई पत्र पठाएर चासो राखेको उच्चायुक्तको कार्यालयले सरकारको जवाफमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएको हो । नियुक्ति प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको र यसले आयोगको स्वायत्तता, निष्ठा र वैधानिकता अवमूल्यन गरेको ठहर गरिएको छ ।

यसले मानव अधिकार उल्लंघनका घटनामा उपचार खोज्ने नेपाली जनताको पहुँचलाई वञ्चित गर्ने तर्फ पनि उनीहरुले ध्यानाकर्षण गरेका छन । आयोगको स्वायत्ततामा जोड दिँदे उनीहरुले नियुक्ति नेपालको संविधान र कानुन अनुसार समेत नभएको पनि टिप्पणी गरेका छन् ।

सरकारले अध्यादेश ल्याई संवैधानिक परिषदका ३ जना सदस्यको उपस्थितिमा बैठक गरी मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।

संवैधानिक निकायका पदाधिकारी संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था भए पनि संसद विघटनको समयमा विना सुनुवाइ नियुक्ति गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *