Main News

भयावह बन्दै कोराना, भरिँदै अस्पताल, गम्भीर संक्रमितका आफन्तको यस्तो आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १३ गते २०:४७
भयावह बन्दै कोराना, भरिँदै अस्पताल, गम्भीर संक्रमितका आफन्तको यस्तो आग्रह (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै गर्दा शहरी क्षेत्रका सबैजसो अस्पतालमा बेड भरिएका छन् । अस्पतालका बेडमा आफन्तले कोरोना भाइरससँग संघर्ष गरिरहेको दृष्य नजिकबाट देखेकाहरु सावधानी अपनाउन सबैलाई आग्रह गरिरहेका छन् ।

कोरोना संक्रमितको उपचार हुने सबैजसो अस्पताल बाहिर संक्रमितका आफन्त मलिन अनुहारमा देखिन्छन् । संक्रमित सिकिस्त भएका र आईसीयूमा रहेकाका आफन्त गहिरो चिन्तामा हुन्छन् । भित्र संक्रमितको उपचार चलिरहेको छ बाहिर आफन्त शीघ्र स्वास्थ्य लाभको कामना गर्छन् ।

अस्पतालका बेडमा बिरामी आफन्त छन् । न भेट्न पाउने अवस्था छ, न देख्न पाउने । तैपनि अस्पताल छाड्न मनले मान्दैन । संक्रमितलाई देख्न र भेट्न नपाए पनि उनीहरु अस्पताल परिसरमा कुरेर बसेका हुन्छन् । अस्पतालमा आफ्नो मात्र नभइ अरुका पीडा पनि उनीहरुले देखेका छन् । त्यसैले पनि संक्रमितका आफन्त हात जोडेरै, सबैलाई जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्छन् ।

कोरोना संक्रमितका आफन्त, आफन्तको अवस्था देखेर चिन्तित छन् । अनी स्वास्थ्यकर्मी अस्पताल आएका संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन् । अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित बढेकाले, अबको अवस्था भयावह हुन नदिन जनस्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको अपील छ ।

कोरोना संक्रमित बढेसँगै अस्पतालका बेड भरिएका छन् । बेडको अभाव खड्किएसँगै बर्षौदेखि थन्किएका पुराना बेड पनि प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालले अस्पताल बाहिर नै अक्सिजन सिलिन्डरसहित आवश्यक जोहो गरिरहेका छन् ।

यी दृश्य गम्भीर खतराका संकेत हुन । त्यसैले कोरोना संक्रमणबाट जोगिन आफैं सचेत हुनुको विकल्प छैन । भिडभाडमा नजाऔँ । सामाजिक र भौतिक दूरी कायम गरौँ सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गरौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *