बजेट रकमान्तर गरेर भए पनि संक्रमितको उपचार खर्च जुटाउन सरकारसँग आग्रह (भिडियो रिपोर्टसहित)
१२ वैशाख २०७८ काठमाडौं । सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि खर्च जुटाउन सरकारलाई आग्रह गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले नागरिकको जीवन रक्षाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गरेका हुन । बैठकमा नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसकै सांसद देवेन्द्रराज कंडेलले अक्सिजन अभाव हुने स्थिति आए पनि अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान नगएको गुनासो गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने तर अक्सिजन सिलिण्डर किन्न सरकारले व्यवसायीलाई सहुलियत दिने तयारी गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।
जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरेको आरोप लगाउनुभयो ।
बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमितको उपचारमा भइरहेका कामको स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
कोभिडको बहानामा सुशासन कमजोर हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रतिक्रिया