जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

हिमालय टिभी
२०७८ वैशाख १० गते १५:४५
जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

१० वैशाख २०७८ बझाङ । भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उहाँ भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आउनुभएको थियो ।

उहाँले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो ।

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर लैैजाँदै गर्दा बाटोमै मृत्यु भयो । कोभिड– १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीले बताउनुभयो ।

नयाँ वर्षका लागि घर आउनुभएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण देखियो । आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाका दुई जनामा लक्षण देखिएपछि परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखियो ।

जिल्ला अस्पतालमै कार्यरत एक महिला स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो । कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाउनुभएकी उहाँलाई पहिलाभन्दा कडा खालका लक्षण देखिएको छ । सबै जना अहिले जिल्ला अस्पतालमा छन् ।

बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याइएका सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन् । सेवा सञ्चालनका लागि चार कर्मचारी आवश्यक पर्ने र सबैको सेवासुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो ।

डा ओखेडाले भन्नुभयो, “अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन । सघन उपचार कक्ष र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन । शुरुमा अस्पतालले सेवासुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ । कोही पनि आएनन् । दुर्गम भनेपछि कसैले आउन मान्दैनन् । प्रदेश सरकाले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ । आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ ।” प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्नसके चाँडै सञ्चालनमा आउँछ । जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उहाँको दुखेसो छ ।

रोजगारीका लागि भारत गएका घर फर्कन थालेसँगै कोरोना सङ्क्रमण देखिन थालेको छ । यही दरमा सङ्क्रमित थपिँदै गए प्रदेशमा उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दश अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष जडान गरेको थियो । तीमध्ये सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका छ पहाडी जिल्ला अस्पतालमा जडान गरिएका सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् । पाँच महीनाअघि प्रदेश सरकारको सहयोगमा पहाडी जिल्लाका अस्पतालमा अत्याधुनिक उपकरणसहित सघन उपचार कक्ष र भेन्टिलेटर जडान गरिएको थियो ।

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पताल भरिन थालेका छन् । सङ्क्रमणदर यही गतिमा बढे केही दिनमा उपचारका लागि सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

देशभर उपकरण सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभएको छ । भेन्टिलेटर र सघन उपचार कक्ष चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ जुन देशभर कमै मात्रामा भएको उहाँले बताउनुभयो ।

सङ्क्रमणको अवस्था सामान्य नभएकाले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । कार्यरत चिकित्सकलाई छोटो अवधिको तालीम दिएर ती उपकरण सञ्चालन ल्याउने गरी नीतिगत निर्णय गर्न मन्त्रालयसँग माग भएको जनाइएको छ । अहिले गड्डाचौकी र गौरीफन्टा नाका भएर नेपाल भित्रने अधिकांश पहाडी जिल्लाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *