Main News

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालगञ्जमा बन्दाबन्दी प्रभावकारी

हिमालय टिभी
२०७८ वैशाख ९ गते १६:०८
बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालगञ्जमा बन्दाबन्दी प्रभावकारी

९ वैशाख २०७८ राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ सङ्क्रमित थपिएका छन् । भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । दैनिकरूपमा सङ्क्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ ।

नेपालगञ्जमा बन्दाबन्दी प्रभावकारी
कोरोना सङ्क्रमण रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिकामा जारी गरिएको बन्दाबन्दी प्रभावकारी देखिएको छ । तीव्रगतिमा कोरोना सङ्क्रमण बढ्दै गएपछि गए रातिबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा वैशाख १५ गते रातिसम्मका लागि बन्दाबन्दी आदेश जारी गरेको हो ।

बन्दाबन्दीका कारण मुख्य बजार क्षेत्रका व्यापार व्यवसाय पूर्णरूपमा बन्द छन् । गणेशमान चोक, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यूरोड, सेतु विकचोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोक सुनसान बन्न पुगेका छन् । यी चोकमा तैनाथ सुरक्षाकर्मीले अनावश्यकरूपमा सडकमा निस्कने सर्वसाधारणलाई सम्झाइबुझाइ फर्काउने गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

बन्दाबन्दीको पहिलो दिन आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख राना, सशस्त्र प्रहरी बल बागेश्वरी गणका गणपति अशोक बम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक नरेन्द्रराज गिरीलगायतका सुरक्षा प्रमुखले सीमानाका जमुनाहबाट नेपालगञ्ज क्षेत्रको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा नेपालगञ्जको मुख्य शहरी क्षेत्रमा बन्दाबन्दी प्रभावकारी रहेको पाइएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ । उहाँले नेपालगञ्जमा बन्दाबन्दीको बीचमा पनि लामो दूरीका सवारी साधन, विमानस्थल, अस्पताल, मेडिकल खुला रहेको बताउँदै भारतबाट नेपाल आउने नेपाली नागरिकलाई सीमानाका जमुनाहबाट बसपार्कसम्म पुग्न सवारी साधनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्जमा कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिएकाले त्यसको रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर जारी गरिएको बन्दाबन्दीमा अत्यावश्यक सेवाबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । बन्दाबन्दीको समयमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

यसैगरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माणकार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *