काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानबाट बिहानैदेखि वर्षा
९ वैशाख २०७८ काठमाडौं । काठमाण्डौंसहित देशका धेरैजसो ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभर नै देशका धेरैजसो ठाउँमा पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकाले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम छ ।
आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसमविद् मानन्धरले आग्रह गर्नुभयो ।
अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया