एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
८ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । झण्डै दुई घण्टा भएको भेटमा दुवै नेताबीच वार्ता सकारात्मक भएको छ ।
काठमाडौंको एक होटलमा प्रधानमन्त्री ओली र नेता नेपालबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तालाई पार्टी विभाजन रोक्ने अन्तिम प्रयासका रुपमा हेरिएको छ ।
यद्यपि दुवै नेताले कुनै प्रतिक्रिया दिनु भएन । वरिष्ठ नेता नेपालले आफू पक्षका नेतासँग सल्लाह गरेर जानकारी दिने भन्दै बाहिरिनु भएको थियो । यद्यपि दुवै नेताबीचको वार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले जानकारी दिनुभयो ।
भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि भेटवार्तामा केहीबेर सहभागी भएर बाहिरिनुभएको थियो । यसअघि अध्यक्ष ओलीले नेपाल पक्षीय नेता योगेश भट्टरालाई बालुवाटार बोलाएर भेट्नुभएको थियो ।
भेटमा भट्टराईले पार्टी एकता जोगाउन र शीर्ष तहमा वार्ता थाल्न आग्रह गर्नुभएको थियो । यस्तै अर्थमन्त्री पौडेल र नेपाल पक्षीय नेता घनश्याम भुसालबीच पनि छुट्टै भेटवार्ता भएको बताइएको छ ।
यी दुई भेटपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । माधवकुमार नेपाल पक्षका २७ जना सांसदलाई कारवाहीका लागि स्पष्टीकरण सोधिएको भोलिपल्टै ओली र नेपालबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
संवादहीनता बढेर विभाजनको दिशामा अघि बढेका दुई नेताले संवादहीनता तोडेर वार्तामा बस्नुलाइ सकारात्मक मानिएको छ ।
प्रतिक्रिया