Main News

नेपालमा एकैदिन थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा धेरै, दश जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १७:०३
नेपालमा एकैदिन थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा धेरै, दश जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र भएको छ । पछिल्लो पटक एकैदिन २३ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् ।

हरेक चार दिनमा कोरोना संक्रमण दोब्बर भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक पीसीआर परीक्षणमा २२ सय २० र एन्टिजेनमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर र एन्टिजेन गरी ९ हजार ६ सय ४७ नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ भेरियन्ट फैलिएपछि हरेक चार दिनमा नयाँ संक्रमितको संख्या दोब्बर बनिरहेको जानकारी दिनुभएको छ ।

दोस्रो लहरबाट पनि काठमाडौं उपत्यका बढी प्रभावित भएको छ । नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या पनि १० हजार नाघेको छ ।

पीसीआर परीक्षणबाट भेटिएका कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ । संक्रमणबाट पछिल्लो पटक थप १० जनाको मृत्यु भएको छ । मृतकको संख्या ३१ सय १२ पुगेको छ । पछिल्लो पटक २ सय ८७ जना मात्र संक्रमणमुक्त भएका छन । सरकारले संक्रमण तिब्र भएको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

बालबालिका र युवामा पनि संक्रमण बढ्दो छ । पछिल्लो पटक भेटिएका संक्रमित मध्ये ९ वर्षमुनिका ५२ जना र १० देखि १९ वर्षसम्मका २ सय २४ जना छन् । यस्तै आयसीयु र भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर अवस्थाका संक्रमित पनि बढेका छन् । १ सय ८० जनाको आइसियूमा र ४७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *