Main News

बाँकेमा वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन

हिमालय टिभी
२०७८ वैशाख ७ गते १६:५१
बाँकेमा वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन

७ वैशाख २०७८ नेपालगन्ज । बाँके जिल्लामा तिव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गरिने भएको छ ।

कोरोना संकट व्यवस्थापन समितिको आज बसेको सर्वपक्षीय बैठकले वैशाख ९ गते बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको हो ।

कोरोना संक्रमण तिब्र गतिमा समुदायस्तर मै फैलिएकाले स्थिति थप भयावह हुन नदिन जनप्रतिनिधि, चिकित्सक र उद्योगी व्यवसायीलगायत नागरिक समाजका अगुवाहरुले एकै स्वरमा तत्काल लकडाउन गर्न सुझाव दिएका थिए ।

पछिल्ला दिनहरुमा बाँकेमा दैनिक २ सय देखि ३ सयसम्म संक्रमित थपिएका छन् भने दैनिक ३ जनासम्मको मृत्यु हुने गरेको छ । संक्रमित बिरामीहरुले अस्पताल भरिभराउ भएको भन्दै चिकित्सकहरुले तत्काल लकडाउन गरेर संक्रमणको चेनलाई बे्रक गर्न आग्रह गरेका थिए ।

चिकित्सकहरुले संक्रमणको अवस्थाका बारेमा जानकारी गराएपछि जनप्रतिनिधि र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु पनि लकडाउन गर्न सहमत भएका हुन् ।

लकडाउन अवधिभर एम्बुलेन्स अत्यावश्यक सेवाका सवारी साधन र भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिहरुलाई ओसार्ने सवारी साधनहरुलाई भने संचालन गर्न दिइनेछ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएदेखि अर्थात चैत २० गतेदेखि हालसम्म भेरी अस्पतालमा मात्रै १७ जनाको मृत्यु भइ सकेको छ । १ सय भन्दा बढी बिरामी अस्पतालमा भर्ना छन ।

त्यसमध्ये ४० जना सिकिस्त छन । ७ जनालाई भेन्टिलेटरमा राखिएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ३ सय २२ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सर्वाधिक उच्च संख्या हो ।

संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य भएका ८ सय १२ बिरामीहरु होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा बसेका बिरामीहरु सिकिस्त बन्दै गए अस्पतालमा बेड नै नपाउने अवस्था उत्पन्न हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *