Main News

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, भर्चुअल पढाइ हुने

हिमालय टिभी
२०७८ वैशाख ६ गते १२:५५
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, भर्चुअल पढाइ हुने

६ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै संक्रमणबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट बढी प्रभावित काठमाडौं उपत्यकासहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअघि सीसीएमसीको बैठकले ती क्षेत्रका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिस अनुसार नै निर्णय गरेको सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो । सरकारले विद्यालय बन्द भएका क्षेत्रमा भर्चुअल माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन निर्देशन पनि दिएको छ ।

खानेपानी मन्त्री मणी थापाले तत्कालैबाट लागु हुने गरी अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । सीसीएमसीले यो महिनाभरी विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को निर्णय तत्कालबाटै लागू हुने मन्त्री थापाले जानकारी दिनुभयो ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न र बालबालिकालाई कोरोनाबाट बचाउन निर्णय गरेको मन्त्री ठगुन्नाले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो । यीनै जिल्लाका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यस्तै यी १४ जिल्लामा रात्री व्यवसायमा पनि कडाइ गरिने भएको छ । होटल रेष्टुरेन्ट तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा सम्मेलन, बैठक तथा भेलामा रोक लगाउन सीसीएमसीले सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *