गौरीफन्टा सीमा नाकामा आवागमन बन्द

हिमालय टिभी
२०७८ वैशाख ५ गते २०:३३
गौरीफन्टा सीमा नाकामा आवागमन बन्द

५ वैशाख २०७८ सुदूरपश्चिम । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आजदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ ।

उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमबार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आज अपराह्न ४ बजेदेखि मङ्गलबार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जनाइएको छ । सीमानाका बन्द भएसँगै कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।

भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । “हाल दैनिक एक हजार सङ्ख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्”, प्रहरी सहायक निरीक्षक पन्तले भन्नुभयो, “सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।”

सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको सङ्क्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।

गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना सङ्क्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्याङ्क भने निर्देशनालयसँगै छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *