संसदमा एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह, दलहरुले दिए यस्तो सुझाव

Himalaya Television
२०७८ वैशाख ४ गते १५:३२

संसदमा एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह, दलहरुले दिए यस्तो सुझाव

मन्त्री ज्ञवालीले भने–माओवादी नभए पनि देश चल्छ

४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उहाँले संसदमा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको एमसीसी सम्झौतालाई पास गर्न सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबिजी अधिकार उहाँसंग छैन,त्यसलाई लामो समयसम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरुको साझा धारणा रह्यो । केही दलहरु एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो । उहाँहरुले एमसीसी प्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो । तर संसदले जे गर्छ बिजनेस चाहिँ रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यवस्थामा छलफल गरेर टुंगोमा पु¥याउनुपर्छ । ”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसी अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताउनुभयो । उहाँले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो “हामीले हाम्रो कुरा प्रष्टसँग राख्यौ । कोभिडको बारेमा सरकार गम्भीर हुनुप¥यो । लकडाउनतिर जानभन्दा कोभिडको रोकथामतिर जानुपर्छ । उपचारका लागि आइसोलेशन सिटहरु बढाएर राख्नुपर्छ । रोकथामका विधिहरुमा सरकारले पुरा ध्यान दिएर जनतालाई सचेत बनाउनुपर्छ भन्यौं । हामीले भन्यौ –उपनिर्वाचन र उपसभामुखको निर्वाचन पनि गर्ने । किन रोकिएको छ ?

संसदलाई बिजनेस किन दिइएको छैन ? राष्ट्रियसभा किन बोलाइएन ? संसदलाई अपाङ्ग किन राखियो ? संसदलाई अपाङ्ग राख्ने काम किन भएको छ सरकारबाट हामीलाई गम्भीर आपत्ति छ । व्यवस्थालाई महत्व दिनुप¥यो सत्तालाई भन्दा । खाली आफ्नो कुर्सी बचेमात्रै व्यवस्था बच्ने नभए नबच्ने भन्ने कुरातर्फ जान भएन त्यसकारण व्यवस्थालाई ध्यान दिउँ । व्यवस्थामाथि खेलवाड किन हुन्छ ? भन्ने प्रश्न हामीले उठाउका छौं । अहिलेको गतिरोधलाई हामीले निकास दिनुपर्छ । एसीसीका बारेमा पनि हामीले प्रष्ट राखेका छौ । हामीले संसदमा छलफलमा ल्याउनुहोस् भनेका छौ । कार्यव्यवस्था बोलाउँ । सरकार पनि आओस् न त अगाडि । सरकारले आफ्नो बिजनेसका लागि हामी टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत होस् । अपोजिस पार्टी हामी त तयारै छौ । ”

प्रधानमन्त्रीले राजनीतिक विषयमा राष्ट्रिय सहमति कायम गर्ने र कोभिड महामारीबाट जोगिने बारे धारणा मागेको र आफुहरुले पदप्रति भन्दा पनि व्यवस्थाप्रति गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी उहाँले दिनुभयो । नेता पौडेलका अनुसार, संसदलाई बिजनेसविहीन नबनाउन र एमसीसी सम्झौतालाई संसदमा टेलब गरेर छलफलमा ल्याउन पनि कांग्रेसले अनुरोध गरेको छ । त्यसैगरी कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न, उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफु सधैं तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पार्नुभएको थियो । उहाँले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरुले त्यस क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने धारणा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने, राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेका छन् । लोकतान्त्रिक शक्तिहरु यसप्रति सजग हुनुपर्छ र यस्ता क्रियाकलापलाई निरुत्साहीत गर्नुपर्छ । ”

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना महामारीविरुद्धको प्रतिकार्य, रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र केही स्थानीय तहका स्थानमा गर्ने उपनिर्वाचन र संसदमा अड्किएको बिजनेसका विषयमा सर्वदलीय बैठकमा छलफल भएको र राजनीतिक दलका नेताहरुले कोरोना महामारी रोकथाममा सरकारले अझै सचेतता अपनाएर प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको बताउनुभयो । नेताहरुले आवश्यक परे अति प्रभावित स्थानका विद्यालय बन्द गरेर, धेरै भिडभाड हुने जात्रा लगायतमा भिडभाड कम गर्न सार्वजनिक अपिल गर्नुको साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको त्यसमा आफुहरुको साथ सहयोग रहने बताएका थिए ।

बैठकमा सहभागी नभएको नेकपा माओवादी केन्द्रका सम्बन्धमा भने उहाँले “उहाँहरुले थाहा पाउनुपर्छ उहाँहरु नहुँदा पनि देश चाहिँ चल्छ ।” भन्ने तिखो टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “उहाँहरु किन आउनुभएन । किन यस्तो गैर जिम्मेबार हुनुभयो भन्ने कुरा उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ उहाँहरु नहुँदा पनि देश चाहिँ चल्छ । ”

कर्णाली प्रदेशमा सांसदहरुबाट भएका फ्लोर क्रसका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो “संसदीय प्रणालीमा व्हीप उलंघन र फ्लोर क्रस अक्ष्यम्य कुरा हो । क्षम्य हुन सक्क्तैन ।”

बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs