Main News

आज पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ वैशाख ४ गते १३:३२
आज पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

४ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी र तराईका केही स्थानमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । अहिले प्रदेश १, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ ।

गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि(मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई भने राहत मिलेको छ । दैनिक वर्षा हुँदा देशका विभिन्न स्थानमा लागेको डँढेलो र प्रदूषणको असर घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *