Main News

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

हिमालय टिभी
२०७८ वैशाख २ गते ७:३७
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

२ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बनाउनेगरी अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको हो ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि कांग्रेस(माओवादीलाई बहुमत सुनिश्चित भएको हो ।

अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणितीय रुपमा सम्भव भएको छ ।

मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको थियो ।

भोलिसम्ममा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ ।

दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ जना सांसद छन् । राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *