Main News

कोरोना संक्रमण दिनहुँ बढ्दो, बालबालिका बढी प्रभावित, भारतबाट फर्किनेहरुमा संक्रमण उच्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते २०:५९
कोरोना संक्रमण दिनहुँ बढ्दो, बालबालिका बढी प्रभावित, भारतबाट फर्किनेहरुमा संक्रमण उच्च (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । देशभरी नै कोरोना संक्रमण बढेको छ । वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरी क्षेत्र यो पटक पनि संक्रमणको हटस्पट बन्न थालेका छन् । तत्काल ठोस कदम नचाले अवस्था भयावह बन्ने चिकित्सकले चेतावनी दिएका छन् । संक्रमणबाट बालबालिका बढि प्रभावित भएका छन् ।

कोरोना महामारीको सुरुवातमा बाँके बढी प्रभावित भएको थियो । दोस्रो लहरमा पनि त्यहाँ संक्रमण तिब्र भएको छ । भेरी अस्पताल संक्रमितले भरिएको छ । अब नयाँ संक्रमितलाई उपचार गर्न नसक्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो पटक बालबालिका पनि उल्लेख्य संख्यामा संक्रमित भइरहेका छन् । चैत महिनामा मात्रै बाँकेमा १९ बर्ष भन्दा कम उमेरका १७ जना बालबालिकामा संक्रमण देखिएको छ । चिकित्सकले संक्रमण तिब्र गतिमा बढ्दै गएकाले केहि समयका लागि विद्यालय बन्द गर्न सुझाब दिएका छन् ।

कोरोनाको पहिलो लहरमा बालबालिकामा संक्रमण कम देखिएको थियो । तर पछिल्ला केही महिनादेखि विद्यालय सञ्चालन भएका कारण बालबालिकामा संक्रमण बढेको छ। भेरी अस्पतालमा सिकिस्त विरामीले आइसीयु पनि भरिएको छ ।

अब सिकिस्त बिरामीको उपचार गर्न नसक्ने अस्पताले प्रष्ट पारेको छ ।
प्रदेश १ मा पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । प्रदेशको राजधानी विराटनगर संक्रमणबाट बढी प्रभावित छ ।

संक्रमण बढेसँगै विराटनगरस्थित कोशी कोभिड अस्पताल पुनःसञ्चालनमा ल्याइएको छ । कोशी अस्पतालमा फिवर क्लिनिकदेखि पीसीआर परीक्षण पनि थालिएको छ ।

संक्रमितको उपचारका लागि प्रदेश सरकार पनि तात्तिन थालेको छ । अस्पतालमा आवश्य जनशक्ति थप्ने, आइसोलेशनको व्यवस्था मिलाउने लगायतका काममा प्रदेश सरकार लागिरहेको छ ।

भारतका विभिन्न ठाउँबाट दैनिक नेपाल भित्रिनेको संख्याका कारण जोखिम बढाइरहेको चिकित्सकको ठ्म्याइ छ । स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्ने व्यवस्था मिलाउनु पर्ने चिकित्सकको सुझाव छ ।

यस्तै बारा र पर्सामा पनि संक्रमण बढ्दो दरमा छ । होलीमा घर गएका भारतीय कामदार अहिले धमाधम नेपाल फर्किरहेका छन् । यसले संक्रमण बढाउन मद्धत गरेको छ । भारतबाट फर्कनेको संख्या बढ्दा नाकामा सामान्य स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिइएको छ ।

भारतबाट आएकाहरु घरमा आइसोलेसन बसे नबसेको अनुगमन पनि भएको छैन । यसले संक्रमण फेरि गाउँगाउँ पुग्ने जोखिम देखिएको छ । भारतबाट फर्किएका दुईजनाको संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमण बढेपछि वीरगञ्जस्थित नारायणी अस्पतालले कोभिड उपचार केन्द्र संचालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *