Main News

प्युठान जीप दुर्घटनामा जिल्ला प्रशासन गुल्मीका चार कर्मचारी र चालकको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १ गते १६:५२
प्युठान जीप दुर्घटनामा जिल्ला प्रशासन गुल्मीका चार कर्मचारी र चालकको मृत्यु

१ वैशाख २०७८ प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप आज प्युठानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका मध्ये एक जना चालक र अन्य सबै प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक गुल्मी मुसिकोटका केशव कार्की, गुल्मीकै सूर्य पन्थी, यमलाल पन्थी र इश्वर भण्डारी, स्यांङ्जा घर भएका श्याम न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका(२ रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो । घाइते ११ जना मध्ये दुईजनाको अवस्था गम्भीर छ ।

यी दुईसहित चारजना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले सबै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । १६ जना सवार जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *