विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, प्रदेशसभामा पत्र दर्ता (भिडियो रिपोर्टसहित)
१ वैशाख २०७८ सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गर्नुभएको छ ।
एमालेले साथ छोडेसँगै अल्पमतमा रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य गरिरहेको छ ।
प्रदेश सभाको पर्सी बस्ने बैठकमा विश्वासको मतका लागि मतविभाजन हुने तय भएको छ । ४० सदस्यीय प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।
एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका एक सांसदको पद खारेज भएको छ । मुख्यमन्त्री शाही कांग्रेस र राप्रपासँग मिलेर एमालेका २ सांसदलाई ह्वीप उल्लघंन गर्न लगाइ विश्वासको मत लिने योजनामा हुनुहुन्छ । तर कांग्रेसले अझै निर्णय गरेको छैन ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले अल्पमतमा परेको अवस्थामा मुख्यमन्त्री शाहीले पदमा टाँसीरहनु भन्दा राजीनामा दिनु उत्तम हुने बताउनुभएको छ ।
एमाले एकमत भए प्रदेश सरकार ढल्नेछ । तर सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ सरकार बनाउन एमालेलाई अन्य दलको एक मत चाहिन्छ । एक सांसद रहेको राप्रपाको साथ पाए एमालेको सरकार बन्न सक्नेछ ।
प्रतिक्रिया