Main News

लुटेरा समूहद्वारा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

हिमालय टिभी
२०७७ चैत २९ गते ८:३३
लुटेरा समूहद्वारा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

२९ चैत २०७७ लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।

लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *