आईपीएलमा बेंग्लोरले विजयी शुरुवात, आज चेन्नई र दिल्ली भिड्ने

२८ चैत २०७७ नयाँ दिल्ली । १४औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले विजयी शुरुवात गरेको छ ।
आईपीलको उद्घाटन खेलमा बेंग्लोरले साविक विजेता मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गरेको हो । १ सय ६० रनको मध्यम लक्ष्य बेंग्लोरले ८ विकेटको नोक्सानीमा अन्तिम बलमा भेट्टाएको थियो ।
उसका लागि एबी डिभिलियर्सले ४८, ग्लेन म्याक्सवेलले ३९ तथा कप्तान विराट कोहलीले ३३ रन बनाए । बलिङ्मा मुम्बईका जसप्रित बुमराह र मार्को जान्सेनले समान २(२ विकेट लिए ।
यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । मुम्बईका क्रिस लिनले सर्वाधिक ४९ रन बनाए ।
त्यस्तै सूर्यकुमार यादव ३१ तथा इशान किशन २८ रनमा पेभेलियन फर्के । बेंग्लोरका हर्षल पटेलले ५ विकेट हात पारे । पटेल म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत आज मुम्बईमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया