Main News

ओली सरकार निरंकुशतातिर बढेकाले विकल्प खोज्नुपर्ने कांग्रेस नेता पौडेलको दाबी

हिमालय टिभी
२०७७ चैत २७ गते १६:१७
ओली सरकार निरंकुशतातिर बढेकाले विकल्प खोज्नुपर्ने कांग्रेस नेता पौडेलको दाबी

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्‍यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताउनुभयो । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो की गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुनेछ । त्यसैले अहिले यहाँ चुनाव चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले यो अहिलेको निरंकुशतातिर बढिरहेको यो सत्ताको विकल्प खोजी गर्नुपर्छ । विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताउनुभयो । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् त्यो बेलामा जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ, यति मात्रै भन्छु । जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथीहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकाले लोकतन्त्र बचाउनका लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पु¥याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनका लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भ¥याङ चढ्न खोजेको पुष्टि भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताउनुभयो । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘व्यवस्था बचाउनुपर्छ, सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ताभन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न गर्‍यौं भने सत्ता आफै आउँछ ।’

समुदायलाई लोतान्त्रिकरण गर्न आफूलाई पनि लोतान्त्रिक बनाउन तयार हुनुपर्ने पनि उहाँले बताउनुभयो । अहिले कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाईमा लाग्न कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो ‘तपाईलाई पक्ष हाम्रो लिनुहोस् भन्दिनँ तर पक्षपात रोक्नुहोस् । निष्पक्षता अपनाउनुहोस् । पक्षपातको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस् । नाङ्गो रुपमा कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रेका छन, आजको हाम्रो लडाई तिनैसँग हो । हाम्रो लडाई यही सिद्धान्तको लडाई हो । सत्ताको लडाई होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *