वायु प्रदुषणका कारण अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
२७ चैत २०७७ काठमाडौं । देशभर बढिरहेको वायु प्रदूषणले खतराको तह पार गर्दा अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् ।
अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण वायु प्रदूषण भएको चिकित्सकहरुको भनाइ छ ।
प्राध्यापक डा सन्तकुमार दासका अनुसार पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको हो ।
प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हुँदा शुरुमा फोक्सो बढी प्रभावित हुन्छ । धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्ने डा दासको भनाइ छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा नीरज बमका अनुसार वायु प्रदूषणले स्वास्थ्यमा तत्काल र दीर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । हावामा प्रदूषणको मात्रा बढी हुँदा आँखा चिलाउने, आँखामा संक्रमण हुने, छालामा एलर्जी हुने, श्वासप्रश्वासमा संक्रमण हुने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिन्छन् ।
उहाँका अनुसार प्रदूषणको असर तत्काल त्यति महसुस नभए पनि श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गरेका मसिना कणहरूले निमोनिया, उच्च रक्तचाप, पक्षघात, हृदयाघातको समस्या ४० प्रतिशतले बढाउँछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ ।
प्रतिक्रिया