Main News

कोरोनाविरुद्धको खोप पठाउन भारतीय कम्पनीलाई सरकारद्वारा तेस्रोपटक पत्राचार

हिमालय टिभी
२०७७ चैत २७ गते ८:१३
कोरोनाविरुद्धको खोप पठाउन भारतीय कम्पनीलाई सरकारद्वारा तेस्रोपटक पत्राचार

२७ चैत २०७७ काठमाडौं । सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियालाई वैशाख महिनाभित्र बाँकी खोप पठाउन तेस्रोपटक पत्राचार गरेको छ ।

नेपालले पहिलो चरणमा सिरमसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो, जसमध्ये १० लाख डोज मात्रै आएको छ । बाँकी १० लाख डोज खोप अहिलेसम्म नआएकाले नेपालमा खोप अभियान प्रभावित हुने भएपछि तेस्रोपटक ताकेता गरी पत्र पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय र सिरमबीच गत फागुन ५ मा प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो । सहमति भएको तीन दिनमा दश लाख पठाएको थियो ।

बाँकी १० लाख त्यसको एक हप्ता अर्थात् १५ फागुनभित्र पठाइसक्ने सहमति भएको थियो । खोप आउने विश्वासमा सरकारले ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार सिरमले पछिल्लो समय विभिन्न बहानामा टार्ने काम गरिरहेको छ ।

सिरमले वैशाख महिनाभित्र खोप नपठाए जेठबाट सुरु हुने दोस्रो डोज अभियान प्रभावित बनाउनेछ । सरकारले कोभिसिल्डबाहेक अन्य कुनै पनि कम्पनीसँग खरिदको प्रक्रिया अगाडि बढाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *