Main News

नेपालमा कोरोना संक्रमण बढ्दै, जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २७ गते ६:३१
नेपालमा कोरोना संक्रमण बढ्दै, जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको आग्रह (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण दर फेरि पनि उच्च हुँदै गएको छ । जसका कारण सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै राती ९ बजेपछिका रात्रिकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । खुल्ला ठाउँमा मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । के सरकारले कडा नियम लगाउने गरी देशमा अहिले कोरोना संक्रमणको जोखिम बढेको हो त ? हेरौँ यो सामग्री ।

सरकारले जनस्वास्थ्य मापदण्ड पालनामा कडाई गरे पनि नागरिकको गतिविधि उस्तै छ । सडकमा मास्क नलगाउने, भिडभाड गर्ने गतिविधि रोकिएको छैन । कतिपयले कोरोना भ्रम हो, कोरोनाले केही गर्न सक्दैन भन्दै जनस्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । जसका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसैले पनि सरकारले अब, जनस्वास्थ्य मापदण्ड पालनालाई कडाई गरिरहेको छ ।

संक्रमितको संख्या मात्रै होइन, पछिल्लो समय कोरोना संक्रमण भएकामा गम्भीर समस्या देखिने क्रम पनि बढ्दो छ । शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै, हाल १३ जना गम्भिर कोरोना संक्रमित भर्ना भएका छन् । सामान्य रुघाखोकी लागेका, जीउ दुखेका, ज्वरो मात्रै आएका व्यक्तिमा पनि निमोनियाको समस्या देखिन थालेको छ । यसरी संक्रमितमा गम्भिर समस्या देखिनुको कारण पनि जनस्वास्थ्य मापदण्ड पालना नगर्नु हो ।

भारतमा संक्रमण बढेर मात्रै नेपालमा कोरोनाको संक्रमण बढेको होइन । सीमा नाकाबाट कसैलाई छिर्न नदिएर मात्रै, संक्रमण नियन्त्रण हुँदैन । कोरोना हामी विचमै छ र कोरोना भाइरसले आफ्नो रुप परिवर्तन गरिरहेको छ । त्यसैले सामान्य रुघाखोकी लाग्दा, ज्वरो आउँदा वा कोरोनासँग मिल्ने लक्षण देखिने बित्तिकै पीसीआर परीक्षण गर्न चिकित्सकको सुझाव छ ।

सरकारले ९ बजेपछि रात्रिकालिन व्यवसायमा कडाई गर्न, शैक्षिक संस्थाहरुमा उच्च सतर्कता अपनाउन ,बढी भिडभाड हुने स्थानमा सावधानी अपनाउन,सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन र गर्न जुन आग्रह गरिरहेको छ । कोरोनाका कारण भयावह अवस्था आउन नदिन, सबै क्षेत्रले सरकारको त्यो आग्रह मान्नुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *