Main News

आज संसदमा सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयकको प्रतिवेदन पेस हुँदै

हिमालय टिभी
२०७७ चैत २६ गते ९:१८
आज संसदमा सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयकको प्रतिवेदन पेस हुँदै

२६ चैत २०७७ लण्डन । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

२०७६ को पुस १३ गते संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बावजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

संसदमा पेस हुन लागेको विधेयकको प्रतिवेदनमा कांग्रेसको फरक मत भने समेटिएको छैन । समितिबाट पारित भएको प्रतिवेदन नै संसदमा पेश हुने भएकाले सच्याउनैपर्ने विषय भए पनि संसदबाट सच्चिने विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

कांग्रेसले पनि अब बैठकमै विधेयकमाथि आफ्नो फरक मतलाई उठाउने भएको छ । समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पनि पारित भइ अगाडि बढे नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने कांग्रेस सांसद रामबहादुर विष्टको भनाइ छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *