Main News

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २५ गते १५:५३
निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

आज सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभएको हो ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उहाँले बताउनुभयो । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिए पति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहँुदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरु छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐजरुहरु कर्मचारीतन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारीतन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारीतन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । कर्मचारीतन्त्र निष्पृय, असंवेदशील र जडसमूह नभएकाले कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कर्मचारीतन्त्र निष्पृय, असंवेदनशील र जड समूह होइन र हुन सक्दैन । यो एउटा संवेदनशील र गतिशील मानवहरुको विवेकशील समूह हो । यस हिसाबले आफूलाई यसले अगाडी बढाउनुपर्छ । त्यसैले कर्मचारीतन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ ।’

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्धारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनुभयो । कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौति भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो । अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । कर्मचारीतन्त्र प्रतिको नकारात्मक दृष्टिकोण हामीले बदल्नैपर्छ । यो हाम्रो साझा चुनौती हो । हामी त्यसमा लाग्नैपर्छ । निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ, हामी सबैले भन्दै आएको मान्यता हो । यो सेवालाई भ्रष्टाचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।’

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनोबल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्यसचिव बैरागीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीहरुको क्षमता विकास हुनुपर्छ, तीनको मनोबल उच्च बनाउनुपर्छ, तीनलाई सधैं उत्प्रेरित बनाउनुपर्छ भन्ने मान्यता हामीले राख्दै आएका छौं, भन्दै आएका छौं तर गर्ने कसरी ? ज्ञान र सीपमा लगानी नगरी हामी प्रतिस्पर्धामा खरो उत्रन पटक्कै सक्दैनौं । अब यो सोच हामीले त्याग्नुपर्छ । परम्परागत शैलीबाट हामी अगाडी बढ्नै सक्दैनौं ।’

निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव बैरागीले बताउनुभयो । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *