Main News

अविश्वासको प्रस्ताव आउने भएपछि लुम्बिनी प्रदेशसभा अन्त्यको सिफारिस

हिमालय टिभी
२०७७ चैत २४ गते ७:४९
अविश्वासको प्रस्ताव आउने भएपछि लुम्बिनी प्रदेशसभा अन्त्यको सिफारिस

२४ चैत २०७७ बुटवल । विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराउन लागेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मध्यरातिदेखि लागू हुनेगरी प्रदेश सभा अन्त्यको सिफारिस गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सातौ अधिवेशन आज राती १२ बजे बाट अन्त्य हुने प्रस्ताव संसद सचिबालयलाई पठाउने निर्णय गरेको छ ।

१८ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा अहिलेसम्म ५ वटा बैठक बसेको थियो । आज छैटौं बैठक पनि बस्ने र राती १२ बजेदेखि संसदको सातौं अधिवेशनको अन्त्य हुने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो।

मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

लुम्बिनी प्रदेश एमाले र माओवादीको संयुक्त सरकार बनेपनि पार्टी एकता भंग भएपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको हो ।

यसैबीच आजै माओवादी केन्द्रबाट दुई मन्त्री हटाइने र ४ मन्त्री थप गर्ने तयारी भएको छ । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल सहभागी छन् । माओवादीले एमालेमा लागेका दुई सांसदलाई कारबाही गरेपछि मुख्यमन्त्रीले पनि थप कदम चाल्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *