Political Hightlights

प्रदेश १ का मन्त्री टंक आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटायो

हिमालय टिभी
२०७७ चैत २३ गते १३:११
प्रदेश १ का मन्त्री टंक आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटायो

२३ चैत २०७७ विराटनगर । प्रदेश– १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ ।

संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटाएको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई दिने माओवादी केन्द्रको तयारी छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पदमुक्त गरेको पत्र तयारी अवस्थामा रहेको र आजै दिउँसो दुई बजे बस्ने प्रदेशसभामा जानकारी गराउने तयारी भएको जानकारी दिनुभयो ।

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनपछि एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित हुनुभएको थियो । माओवादी जनयुद्ध लडेका आङ्बुहाङ एमाले प्रवेश लगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्