राजनीति

बढ्यो राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता, एमालेका दुई समूह मिलाउन नेता खनाललाई दबाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते १८:५३
बढ्यो राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता, एमालेका दुई समूह मिलाउन नेता खनाललाई दबाव (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ काठमाडौं । समानान्तर गतिविधि गर्दै आएका नेकपा एमालेका दुई समूहलाई मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय हुनु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको काउन्टरमा अभियान सञ्चालन गरिरहेका नेपाल खनाल समूहमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाललाई उहाँकै निवासमा भेटेर राष्ट्रपतिले पार्टीमा मिलेर जान दबाब दिनुभएको छ ।

उहाँले भन्नुभयो ‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुराहरु पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो ।’

पछिल्लो समय अस्वस्थ्य रहेका खनालको स्वास्थ्य स्थिति बुझ्ने निहुँले डल्लु पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले मिलेर जान सुझाव दिएको एमाले वरिष्ठ नेता खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरु उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ । सबै पार्टीहरु बलिया भए, सुदृढ भए एकतावद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरु बलियो हुने कुरा हो । पार्टी बलियो नभइकन लोकतन्त्र बलियो हुँदैन त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ । सबै पार्टीहरु बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो ।’

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र सर्वोच्च अदालतको आदेशपछि पुरानै हैसियतमा पुगेका एमालेको विवादमा राष्ट्रपति भण्डारीले पनि चासो दिँदै आउनुभएकोछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुग्ने गरी निर्णय गराउन सक्रिय हुने गरेको आरोप राष्ट्रपति माथि लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्