Main News

प्रधानमन्त्री ओलीले भने–आउने साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ

हिमालय टिभी
२०७७ चैत १७ गते १७:५८
प्रधानमन्त्री ओलीले भने–आउने साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ

१७ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ ।

आज रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सामाजिक सुरक्षाका प्रबन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्‍यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो । सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले स्वतन्त्रताको उपभोग गर्दा सही ढङ्गले उपभोग गर्नुपर्छ । नत्रभने त्यसको दुरुपयोग हुने खतरा छ । अब त हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार स्वतन्त्रतामा कुनै बन्देज लगाउने वा कुनै नियन्त्रण गर्ने अथवा कुनै अंकुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छदैँछैन र हुँदैन । सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पुर्‍याउनुपर्ने सहयोग, त्यसलाई अरु फस्टाउनका लागि गर्नुपर्ने सहयोगका सन्दर्भमा गच्छेले भ्याएसम्म सरकार त्यो गर्न तयार छ ।’

अहिले देशमा समस्या पर्‍यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उहाँले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पार्नुभयो । प्रदेश सरकरहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संघीयतामा समस्या के प¥यो ? केहीकेही अनुभूति र फिलिङ्गसका कुराहरु छन् । तर अब फिलिङ्स बाहेक भन्ने हो भने कुनै पनि प्रदेशलाई केन्द्रबाट बजेटमा कमबेशी गरिएको छैन । बरु जहाँनिर पछाडी परेको छ त्यहाँका लागि प्रोजेक्ट तयार गरिएको छ ।’

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उहाँले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्नाआफ्ना भइसके ।’

प्रधानमन्त्री ओलीेले केही मान्छेहरुको महत्वकांक्षाका कारण राजनीतिक अस्थिरता निम्तिन खोजेको बताउनुभयो । केही व्यक्तिहरुको आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *