राजनीति

सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा, यस्तो छ अंक गणितीय अवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १४:०६
सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा, यस्तो छ अंक गणितीय अवस्था (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ धनगढी । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा परेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीका १२ जना सांसदमध्ये १ जना एमालेमा प्रवेश गरेका छन् । जबकि एमालेसँग २५ जना सांसद छन् ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका २५ , नेपाली कांग्रेसका १४, नेकपा माओवादीका १२, जनता समाजवादीका २ जना सांसद छन् । । माओवादीबाट निर्वाचित भएका अछामका झपट बोहरा एमालेमा प्रवेश गरेपछि माओवादीसँग अब ११ जना मात्रै सांसद छन् ।

सुदूरपश्चिमा सरकार बनाउन २७ जना सासदको समर्थन चाहिन्छ । अहिलेसम्म अविश्वासको प्रस्ताव आएको छैन । त्यसैले अविस्वास प्रस्ताव आउने बित्तिकै माओवादीबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टलाई सरकार जोगाउन कठिन छ ।

२५ सिट भएको एमालेले जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने तयारी गरेको छ । तर आन्तरिक किचलोमा फसेको एमालेमा पनि ओली समूह र नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएका छन् । एमालेको नेपाल समूह भट्टविरुद्ध नजाने मनस्थितिमा छ । संघीय सरकारमा माओवादीले समर्थन फिर्ता नलिएका कारण प्रदेशमा पनि नलिने नेपाल समूहको भनाइ छ ।

माओवादी समर्थनमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा साझेदारीका लागि जनता समाजवादी पार्टीलाई फकाइरहनु भएको छ । त्यसैले सुदूरपश्चिममा एमाले भट्टको सरकार ढालेर आफ्नो नेतृत्वको सरकार बनाउने साइत कुरेर बसेको छ ।

प्रदेशको दोश्रो ठूलो दल नेपाली कांग्रेसले पनि सरकारको विकल्प खोजिरहेको छ । १४ जना सांसद भएको कांग्रेसलाई कुनै एक दलको मात्रै साथ लिएर पुग्दैन । उसले माओवादी र जनता समाजवादी पार्टीको पनि समर्थन लिनुपर्छ । आफ्नै दलको सरकार ढालेर कांग्रेसलाई समर्थन गर्न माओवादीलाई कठिन छ । तर पनि कांग्रेस अहिलेको सरकारको विकल्प खोज्नु पर्ने पक्षमा छ ।

गणितीय हिसाबमा सुदूरपश्चिम प्रदेशमा एमालेलाई सरकार बनाउन सहज देखिए पनि पार्टीभित्रै दुई धार देखिएकाले बाहिर देखिए जति सहज छैन । संघीय सरकारका लागि बन्ने रणनीतिले सुदूरपश्चिम प्रदेशमा बन्ने सरकारलाई पनि प्रभाव पार्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्