अध्यक्ष ओलीले बोलाएको बैठकमा जाने नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)
१३ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) नेपाल–खनाल समूहले पार्टीलाई बलियो र गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको छ ।
आज काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल–खनाल समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकले पार्टीलाई बलियो, गतिशील र क्रियाशील बनाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरिएको नेकपा(एमाले) का नेता रघुजी पन्तले बताउनुभयो ।
यस निम्ति प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिने संसदीय दलको बैठमा जाने निर्णय भएको पनि पन्तले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी नेकपा(एमाले) भित्रै बसेर पार्टीलाई बलियो बनाउनका लागि, पार्टीलाई शुद्ध बनाउनका लागि, पार्टीलाई गतिशील र क्रियाशील बनाउनका लागि र पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने हाम्रो नीति अनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुराहरु राख्ने भन्ने हामीले निर्णय गरेका छौँ ।’
बैठकपछि बोल्दै नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी सदस्यहरुले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठकको माग गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ । मरेको नेकपा(एमाले)लाई जहाँ ब्युँताइदियो त्यो ब्युँतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पत्ति, जो जे हुन त्यही विन्दुमा फर्काएको हुनाले पार्टी त्यही बाट शुरु हुनुपर्छ भनेर हामी केन्द्रीय कमिटी सदस्यहरुले दस्तखत गरेर बैठकको माग गर्ने निर्णय गर्यौँ । संसदीय दलको बैठकमा जाने, आफ्ना कुराहरु राख्ने, नोट अफ डिसेन्ट राख्ने त्यहाँबाट फर्किने ।’
संसदीय दलको बैठकमा गएर नोट अफ डिसेन्ट राखेर फर्किने नेता पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया