एमाले र माओवादी ब्युँताउने अदालतको फैसलाविरुद्ध माओवादी केन्द्र अदालत जाँदै
१३ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको माघ २३ गतेको फैसलाविरुद्ध साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट माओवादी केन्द्रले आज पुनरावलोकनमा जाने तयारी गरेको छ ।
सर्वोच्चले निवेदकको मागविपरीत निर्णय गरेको भन्दै माओवादीले पुनरावलोकनमा जाने निर्णय गरेको हो। पार्टी एकताका लागि ओली र प्रचण्डसँगै जानुपर्ने भए पनि हाल त्यो अवस्था नरहेकाले प्रचण्ड एक्लै जाने तयारी छ ।
अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको थियो। यो फैसलापछि एमाले र माओवादी केन्द्र अलग–अलग राजनीतिक दलका रूपमा कायम भएका छन् ।
तर माओवादीले अदालतको निर्णयलाई राजनीतिक निर्णयको संज्ञा दिएर पुनरावलोकनमा जाने निर्णय गरेको थियो। पूर्ववत् अवस्थामा पार्टी फर्किएपछि एमाले भने आन्तरिक किचलोका कारणले फुटको संघारमा पुगेको छ।
सर्वोच्चले फैसला गरेको मितिले साठी दिनभित्र पुनरावलोकन गर्न पाउने व्यवस्था छ । अदालतको निर्णयप्रति पहिलेका नजिरलाई आधार बनाएर जाने तयारीमा साविक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ ।
प्रतिक्रिया