Political Hightlights

सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७७ चैत ९ गते ७:४५
सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

९ चैत २०७७ काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै पार्टीभित्रैबाट आवाज उठिरहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ।

प्रधानमन्‍त्री केपी शर्मा ओलीप्रति व्यक्तिगत रुपमा नरम देखिएका पार्टी सभापति देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिने पक्षमा कांग्रेसको रामचन्द्र पौडेल पक्ष देखिएको छ ।

पौडेलले हिजो आफ्नो समूहका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । आफ्नै निवासमा दुई घण्टा बसेको बैठकमा महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरु डा रामशरण महत र अर्जुननरसिंह केसी तथा डा मीनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा छलफल भएको एक नेताले जानकारी दिए । यस विषयमा पौडेल पक्षले आज सभापति देउवाको ध्यानाकर्षण गराउने भएको छ ।

संसदको अंक गणितमा जसपा निर्णायक भूमिकामा रहे पनि अहिलेसम्म उसले आफ्नो पोजिसन स्पस्ट गरेको छैन। ओली पक्ष र विपक्षी गठबन्धन दुवैतिर वार्ता जारी राखे पनि जसपाले संस्थागत रुपमा निर्णय नलिँदा राजनीतिको कोर्स अल्झिएको छ।

नयाँ सत्तासमीकरणका विषयमा माओवादी केन्द्र र जसपाले निर्णय नलिएको भन्दै परिपक्व परिस्थिति खोजिरहेको कांग्रेसले पनि आधिकारिक धारणा तय गरेको छैन । तर, वरिष्ठ नेता पौडेलले भने ओलीको विकल्प खोज्नु पर्ने बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्