विदेश

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षापछिको बाढीले जनजीवन प्रभावित

हिमालय टिभी
२०७७ चैत ८ गते ८:५१
अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षापछिको बाढीले जनजीवन प्रभावित

८ चैत २०७७ अस्ट्रेलिया । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ ।

आज बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् ।

यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् । नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् ।

केही दिनदेखिको अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न छन् । संघीय र राज्य सरकारले उत्तरी न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।

राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् । अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ ।

आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको छैन । सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिबार पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई सतर्क पारिएको छ ।

अहिले न्यु साउथ वेल्सभर करिब ५० हजार आपतकालीन उद्धारकर्ताहरु खटेका छन् । छिमेकी कुइन्स्ल्यान्ड राज्यकी प्रिमियर अनेस्तासिया पलास्जुकले न्यु साउथ वेल्समा उद्धारका लागि राज्य आपत्काल सेवाका डुंगा हरु र स्वयमसेवक पठाइएको जनाएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *