राजनीति

संसदीय दलको नेतालाई शक्तिशाली बनाउने गरी एमाले संस्थापन पक्षद्वारा विधान संशोधन

हिमालय टिभी
२०७७ चैत ७ गते १७:२४
संसदीय दलको नेतालाई शक्तिशाली बनाउने गरी एमाले संस्थापन पक्षद्वारा विधान संशोधन

७ चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले संसदीय दलका नेतालाई थप शक्तिशाली बनाउने गरी विधान संशोधन गरेको छ ।

संसदीय दलको बैठकले पारित गरेर पठाएको विधान अहिले जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो । अध्यक्ष केपी ओलीको आव्हानमा बालुवाटारमा बसेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा नेपाल–खनाल समूहका सांसद भने सहभागी भएनन् ।

संशोधित विधान अनुसार संसदीय दलका नेतालाई थप अधिकार दिइएको छ । दलका नेताले सांसदलाई जुनसुकै बेला ६ महिनाका लागि निलम्वन गर्नसक्ने अधिकार पाएका छन् ।

यस्तै संसदीय दलको उपनेता पनि नेताले नै तोक्ने प्रावधान पनि राखिएको छ । यसअघि उपनेता पनि निर्वाचनबाट छानिने व्यवस्था थियो । संशोधित विधानमा संसद र संसदीय समितिबाहिर पनि पार्टी नीति र निर्देशनविपरीतको राजनीतिक र गुटगत भेला गरे पनि सांसदमाथि कारवाही गर्न सकिने व्यवस्था पनि छ ।

यसअघि संसदीय मामिलामा दलको नेताको निर्देशनमा प्रमुख सचेतकले जारी गर्ने ह्विप उल्लंघन गर्ने सांसदमाथि मात्र कारवाही अघि बढाउन सक्ने प्रावधान थियो । विधान संशोधनका लागि यसअघिको बैठकबाट ३ सदस्यीय कार्यदल बनाइएको थियो ।

संस्थापन पक्षको संसदीय दल र बोर्डको बैठकले गुटगत गतिविधिमा संलग्नलाई कारवाही अघि बढाउने निर्णय पनि गरेको छ । चैत पाँच गते खनाल–नेपाल समूहका नेता सहभागी नभएको बैठकले संसदीय बोर्ड गठन गरेको थियो ।

संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई समेत राखिएको छ । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा गौतमलाई स्वागत गर्दै अराजक र गुटबाजलाई समेटेर पार्टी एकता गर्न लागेको तर अब थाकेको भन्दै व्यङ्ग गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्