Main News

एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षले बहिस्कार गर्ने

हिमालय टिभी
२०७७ चैत ७ गते ७:५७
एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षले बहिस्कार गर्ने

७ चैत २०७७ काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ ।

बैठकमा सो प्रस्ताव छलफलका लागि पेश हुने भट्टराईले बताउनुभयो । उहाँकाअनुसार बैठकमा नेता वामदेव गौतमसहित थुप्रै सांसद र नेताहरुको सहभागिता रहनेछ ।

यसअघि नेता गौतमले शुक्रबार आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताउनुभएको थियो । केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद नारदमुनी रानाकाअनुसार बिहान साढे दश बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरिएको छ ।

सो लगत्तै १२ बजेका लागि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच माधव नेपाल पक्षले आजको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने भएको छ ।

हिजो बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताए ।

संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने नेता तथा सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *