Main News

बल्खु हत्याकाण्डः सन्तोषी श्रेष्ठ सापकोटाको हत्यामा श्रीमानकै संलग्नता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १७:५१
बल्खु हत्याकाण्डः सन्तोषी श्रेष्ठ सापकोटाको हत्यामा श्रीमानकै संलग्नता (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ ।

लागुऔषध दुर्व्यसनी सन्तोष र श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैंझगडाकै कारण उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफूले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिनुभयो ।

प्रहरीले सन्तोषीको मृत शरीर बोरामा प्याक गरेर फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नम्बर ३ का सुर्य दर्शनहाईटका आशिष लिम्बूको हत्यामा संलग्न ३ जनालाई पनि सार्वजनिक गरेको छ ।

लिम्बूको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्र कुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरुसँग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बूको शव फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *