राजनीति

कर्णाली प्रदेश सरकारलाई एमालेको एउटा खेमाको समर्थन फिर्ता, अर्कोको कायमै

हिमालय टिभी
२०७७ चैत ४ गते १६:५९
कर्णाली प्रदेश सरकारलाई एमालेको एउटा खेमाको समर्थन फिर्ता, अर्कोको कायमै

४ चैत २०७७ सुर्खेत । नेकपा एमालेको संस्थापन पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तर एमालेको नेपाल(खनाल समूहले भने निर्णयमा असहमति जनाएको छ ।

एमालेका प्रदेश इन्चार्ज एवम प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलको अगुवाइमा बसेको पार्टी प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारमा रहेका पार्टीका मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा हुनुहुन्छ । ४० सदस्यीय प्रदेश सभामा एमालेका २० जना सांसद छन् । तर आज बसेको संसदीय दलको बैठकमा १० जना मात्रै उपस्थित भएका थिए ।

एमालेकै नेपाल–खनाल समूहका ९ जना सांसद भने यो निर्णयमा सहभागी भएका छैनन् । बैठकले सहभागी नभएका सांसदसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । एमालेकै नेपाल–खनाल समूहले भने प्रदेश सरकारप्रतिको समर्थन कायमै रहेको जनाएको छ ।

मन्त्री ज्वाला र रावल पनि खनाल–नेपाल समूहमा हुनुहुन्छ । मन्त्री ज्वालाले यो निर्णयमा आफुहरुको समर्थन नरहेको भन्दै सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनुभएको छ ।

उहाँले फेसबुकमा स्टाटस लेख्दै गुटगत बैठकले गरेको निर्णयप्रति असहमति रहेको उल्लेख गर्नुभएको छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । खनाल नेपाल समूहले समर्थन गर्दा मुख्यमन्त्रीसँग २२ जना सांसद हुनेछन् । प्रदेशसभामा बहुमतका लागि २० सांसद चाहिन्छ ।

तर एमालेको कँडेल समूहले स्पष्टिकरण मागेका सांसदलाई पदबाट हटाउने प्रक्रिया अघि बढाउने संभावना छ । त्यसो भए प्रदेश सरकारमा नयाँ समिकरण बन्न सक्नेछ । एमाले नेता कंडेलले अब नयाँ सरकार बनाउन अन्य दलसँग पनि छलफल गर्ने बताउनुभयो ।

कर्णालीको घटनाले एमालेको ओली समूह प्रदेशमा पनि माओवादी नेतृत्वको सरकार विस्थापित गर्ने अभियानमा लागेको देखिएको छ । तर यसमा नेपाल(खनाल समूहले भने सहयोग नगर्ने स्पष्ट पारेको छ । अहिले चार वटा प्रदेशमा एमाले र दुइ प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् ।

एमाले नेतृत्वका बागमति र प्रदेश १ मा पनि अविश्वास प्रस्ताव पेश भइसकेको छ । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश सरकारमा पहिलो पटक हलचल देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्