नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला शुरु (Live)
४ चैत २०७७ काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले दिएको कारबाहीको चेतावनीबीच नेकपा एमालेको नेपाल खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ ।
आफू पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल खनाल पक्षले राष्ट्रिय भेला गरेको हो । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अध्यक्षता पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गर्नुभएको छ । अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष अतिथि बनाइएको छ ।
भोलिसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिने छ । राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित छन् ।भेलामा पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला सहभागी हुनुहुन्छ ।
राष्ट्रिय कार्यकर्ता भेलाका सहभागीलाई छलफलका लागि १० समूहमा विभाजन गरिएको छ । सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको हो । भेलामा ३५ सय जनाको सहभागीता रहेको दावी गरिएको छ ।
अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरी आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेलगत्तै नेपाल–खनाल पक्षले पनि कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो । पछिल्लो आरोप र गुटगत भेलाका कारण एमाले विभाजनको अवस्थामा पुगेको छ ।
प्रतिक्रिया