माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा

हिमालय टिभी
२०७७ चैत ४ गते ७:३८
माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा

४ चैत २०७७ महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।

मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

हजारौँ नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले पुष्टि गर्नुभयो ।

“जलेश्वरमा डोला आउने दिन यहाँका जनजन परिचालित हुन्छन्, डोलाको दर्शन एक अपूर्व धार्मिक अवसर मानिने परम्परा स्थापित छ”, नगर कार्यपालिकाको निर्णय उद्धृत गर्दै कडरियाले भन्नुभयो, “नगरमा आउने धार्मिकयात्राका अतिथिलाई सबैले स्वागत गर्न र डोला उत्सवमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदा दिने निर्णय गरिएको हो ।”

जलेश्वरमा आज बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम शुरु भएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको हो । सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानीचोकका होटल सञ्चालक धर्म शर्मा बताउनुहुन्छ । अहिले जलेश्वरदेखि मटिहानीसम्म अटुट मानवपङ्क्ति देखिँदोछ ।

जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी (यात्री बस्ने ठाउँको नाउँ) मा जम्मा हुन्छन् । रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लाग्छ । डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो ।

गत शनिबार फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको स्थापित मैथिल परम्परा छ । फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा सम्पन्न गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न गरेर हिन्दू मैथिलले त्यसको भोलिपल्ट फागु (होली) पर्व मनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *