आज एमालेको नेपाल पक्षले दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गर्दै

४ चैत २०७७ काठमाडौं । संस्थापन पक्षको कारबाहीको चेतावनीबीच नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आजदेखि दुई दिने राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ ।
भेला रोक्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव र्इश्वर पोखरेलको आग्रह र चेतावनीबीच नेपाल समूहले भेला आयोजना गरेको हो ।
आफू पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ ।
गत शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको थियो । आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।
अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरेलगत्तै नेपाल पक्षले पनि कार्यकर्ता भेलाका लागि भन्दै प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।
गत शुक्रबार ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको जानकारी पनि आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा गराउनुभएको थियो ।
प्रतिक्रिया