राजनीति

भोलिको भेला रोक्न र सहभागी नहुन नेपाल समूहलाई ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १५:१९
भोलिको भेला रोक्न र सहभागी नहुन नेपाल समूहलाई ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध आफुखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिनुभएको हो । उहाँले पार्टीभन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिनुभयो ।

पार्टी विधिविधान अनुसार चल्ने भन्दै उहाँले मनपरि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । कानूनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशनविपरीत गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “भोलि भेला आव्हान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पूर्ण नहुन नेता कार्यकर्ताहरुलाई सजग सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन । ”

जंगलको राज चल्दैन
प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता जंगलको राजको प्रसंग उल्लेख गर्दै उहाँले अब पार्टीभित्र अराजकता चल्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो “जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मूल्य मान्यता, पद्धति, विधि, नियम, कानून, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता, अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरु भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुसासनहिनता, उत्छृंखलता जस्ता कुराहरु, विधि विधानविपरीतका कामकारवाहीहरु, पार्टीको एकताविरोधी क्रियाकलापहरुमा छुट हुनेछैन । ती कुराहरु मान्य हुन सक्तैन । त्यस्ता कुराहरुलाई हामी सहेर बसिरहन सक्तैनौ । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाहिँ हुन सक्तैन ।”
उहाँले पार्टीभित्र विचारमा एकतावद्ध भएर अनुसासित ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । सत्य र अनुशासित समाज निर्माणका लागि एकतावद्ध, अनुशासित र गतिशील पार्टी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आत्मआलोचना
आफुहरुले फराकिलो सोच राखेको भन्दै उहाँले आत्मालोचनासहित पार्टी एकताको पक्षमा उभिन नेता नेपाल समूहलाई आग्रह गर्नुभयो । उहाँले विगतमा जस्तै तमासा गर्ने कुरा अब पार्टीभित्र नचल्ने भन्दै चेतावनी दिनुभयो ।

उहाँले भन्नुयो “ठूलाठूला अपराध भएका छन् तर पनि हामीले फराकिलो बुझाई लिएका छौ । लिन्छौ फेरि पनि । एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकारर्छौ हामी । पार्टीमा आउन पाइन्छ । काम गर्न पाइन्छ । आत्मालोचना गरेर सच्चिएर काम गर्नुपर्छ । हामी स्वीकार्छौ । तर फेरि उही सिलसिला चाहिँ चल्दैन । हिजोकै झै तमाासा गर्ने,जगहसाई गर्ने । अनि संचारमाध्यमहरुलाई खेती दिने । विजनेस दिने । त्यो खालको कुराहरु हुन सक्तैन । ”

राम्रो लक्षण देखिएन
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आव्हान गरेको चियापानमा सरिक नभएर नेता नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको भन्दै उहाँले भन्नुभयो –एकथरि अनुहारहरु देखिएन आज । यो राम्रो लक्षण होइन । उहाँले नेता नेपाल समूहले भोलि बुधबारका लागि आव्हान गरेको भेलालाई आफूले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “एकथरि अनुहारका साथीहरु चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरु देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने निहुँ खोजुवाहरुसँग नझुक्ने । हाम्रो नीति त्यही हो ।”

सभामुख जिम्मेवार हुनुभएन

प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक पनि सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुदै गएको बताउनुभयो ।
मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैले चल्न नदिने, आफै बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफै वेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्न नदिएको टिप्पणी प्रधानन्त्रीले गर्नुभयो ।

उहाँले भन्नुभयो “अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ, संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर, फेरि एकछिन पछि अर्को दिनलाई स¥यो भनेर संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संवैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो ।”

प्रधानन्त्री ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवार पूरा नगरेको दाबी गर्नुभयो । आफुले सधै संसदलाई नेताहरुको स्वार्थ तथा दलीय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौं भन्दै आएको भए पनि संसदलाई सो ढंगले चलाउन नदिएएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानको कार्यान्वनयप्रति सभामुखको जुन प्रतिबद्धता हुन पर्थ्यो । संविधान कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु,अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडितहरुको माग, सम्पूर्ण महिला समुदायको माग अनुसार कडा कानून ल्याउनुपर्ने माग र संसदबाट कानुन ल्याएर प्रक्रियाबाट जाँदा खेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेश गर्न दिइएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको छ । ”

पार्टी फुटाएकै हुन्
उहाँले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धतिभन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “एकढंगले पार्टी फुटाइएको थियो । अध्यक्ष निस्कासन गरिएको थियो । महासचिव निस्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरु पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराइदिनुहुन्छ । बाटैमा पद्धति पुराइदिनुहुन्छ । बाटैमा विधान पुराइदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाइदिनुभयो । बाटैबाटैबाट दलको नेता हटाइदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाइदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरु ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्